

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । आज शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।
नेपालले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सक्यो । ओमानका लागि मोहम्मद नदीमले ६५ र सन्दीप गोदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनायो । नेपालका लागि कुशल मल्लले शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र नौ चौकाको मद्दतमा एक सय आठ रन जोडे । यस्तै सोमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए । ओमानका आयन खानले दुई विकेट लिए ।
यो जितसँगै समूह ’ए’ मा रहेको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा यथावत् छ ।
एसीसी प्रिमियर कपको समूह ’ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

खबर बजार । ८ बैशाख २०८०, शुक्रबार १७:००