प्रधानमन्त्री कप क्रिकेटमा आजः आर्मी क्लब, गण्डकी र कर्णाली विजयी

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो ।

एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै, कीर्तिपुरमा भएको खेलमा गण्डकी प्रदेशले बाग्मती प्रदेशलाई ३ विकेटले हरायो । बाग्मतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । गण्डकीका करण पङ्गेनीले ७९ रन बनाए । बाग्मतीका प्रतिस जीसीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मती ४९ ओभर १ बलमा १ सय ९८ रनमा अल आउट भयो । बाग्मतीका आशुतोष घिरैयाले ४४ र ईशान पाण्डेले ४३ रन बनाए । गण्डकीका कमल परियारले ४ विकेट लिए । बाग्मती ८ अङ्कसहित दोस्रो र गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । कर्णालीका अर्जन घर्तीले नट आउट ५० रन बनाए । कोशीका हेमन्त राईले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ३४ ओभर ३ बलमा १ सय ५१ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ र प्रकाश जैशीले ३ विकेट लिए ।

यो जितसँगै कर्णालीले ६ खेलमा ६ अङ्क जोडेको छ । जितविहीन कोशी तालिकाको पुछारमा छ ।