कर्णालीमा आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै

सुर्खेत । कर्णालीमा आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ ।
कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो ।
कर्णाली प्रदेश आयुर्वेद औषधालयबाट एक बर्षमा करिब ८२ हजारले आयुर्वेद सेवा लिएका छन् ।
गत आर्थिक बर्ष २०९/०८० भर कर्णालीका ८१ हजार ९ सय ५२ जनाले सेवा लिएको औषधालयका प्रमुख डाक्टर शंकर रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा ५१ हजार ४ सय ५१ जनाले सेवा लिएका थिए भने गत बर्ष सेवा लिनेको संख्या ३० हजारभन्दा धेरैले वृद्धि भएको हो । चालु आर्थिक बर्ष २०८०/०८१ मा को ६ महिनामा १० हजार नागरिकले उपचार सेवा लिएका छन् ।
सुरुमा आयुर्वेद पद्धतिप्रति चासो नदिएका बिरामीहरू एकपटक आइसकेपछि भने विश्वास गरेर निरन्तर आउने गरेका छन् ।
नि:शुल्क एवं सेवा सहुलियतमा सेवा दिने भएपछि प्रदेश आयुर्वेद औषधालय अहिले कमजोर आर्थिक स्थिति भएकाहरूको समेत उपचार गर्ने थलो भएको सेवाग्राहीहरूले प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय आयुर्वेद औषधालयप्रति नागरिकको आकर्षण बढ्दै गएको भन्दै डाक्टर रिजालले दैनिक ७१ जना बिरामीहरुले औषधालयबाट सेवा लिने गरेको बताउनुभयो । “हाम्रो सेवाप्रति नागरिकको भरोसा बढेको छ, डाक्टर रिजाल भन्नुहुन्छ । विगतका बर्षहरुमा आयुर्वेदप्रति मानिसहरुको खासै चासो थिएन, कोरानाकालदेखि भने आयुर्वेदप्रति नागरिकको आकर्षण बढेको छ ।”
आयुर्वे औषधालयबाट अहिले ओपीडि सेवासहित १४ प्रकारका सेवाहरु प्रदान हुँदै आएको छ । जस अन्तरगत स्तनपायी आमा, जेष्ठ नागरिक स्वास्थ्य सेवा, पूर्वकर्म/पञ्चकर्म, एक्सरे, ल्याव, योगध्यान सेवा, नागरिक आरोग्य सेवा लगायत रहेको जनाइएको छ ।
प्रदेश आयुर्वेद औषधालयले अहिले सुर्खेतका १० वटा पालिकासम्म सेवा विस्तार गरिसकेको जनाइएको छ । ति सेवा केन्द्रहरुबाट समेत नागरिकलाई सेवा प्रदान हुँदै आएको डाक्टर रिजालले बताउनुभयो ।
कर्णालीमा पाईने जडीबुटीहरुबाट समेत औषधीहरु बनाउने गरिएको भन्दै सरकारले अझै आयुर्वेदप्रति चासो देखाउन सके कर्णालीको जडीबुटीलाई सदुपयोग गर्न सकिने बताउनुभयो । कर्णालीमा प्रसस्त जडीबुटी छ, यहाँ पाइने औषधीमुलो जडिबुटीलाई सदुपयोग आयुर्वेद पद्धतीबाट गर्न सके नागरिकको स्वास्थ्यसँगै प्रदेशको आम्दानी बढाउन पनि सहज हुने थियो ।
सेवा विस्तार गरिरहेको औषधालयलाई भवनको अभाव छ । भवन निर्माण शुरु भएको तिन बर्ष भइसक्दा पनि काम हुन नसक्दा भने समस्या भएको प्रमुख डाक्टर रिजालले बताउनुभयो ।