
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको विधान अनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुभएको छ ।

उहाँ चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यस पटक नै अन्तिम हो । महासङ्घको वर्तमान विधान अनुसार आउँदो महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछ । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।
यस्तै अस्ति सोमवारदेखि शुरू भएको महासङ्घको ६०औँ साधारणसभा तथा चुनावबाट नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फका दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभयो ।
यस्तै वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभयो ।
यस्तै जिल्ला, नगर उद्योग वाणिज्य सङ्घतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित भएका छन् ।
प्रदेशतर्फ जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन् ।
वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् ।
एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् ।
द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट एक कार्यसमिति सदस्य र संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।




खबर बजार । २३ बैशाख २०८३, बुधबार १८:१०