एक दिन पनि टिकेन निर्णय, ‘बुस्टर डोज’ खोप अभियानमा रोक

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको बुस्टर डोज खोप दिने निर्णय सार्वजनिक गरेको भोलिपल्टै उक्त कार्य स्थगित गरेको छ ।

थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएको जानकारी गराउनुभएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको थियो ।

तर, सरकारले बुस्टर डोज चाहिँ भनेको छैन । उसले ‘खोपको एक अतिरिक्त मात्रा’ भनेको छ ।