प्रधानमन्त्री कार्यालयको नाम लिएर कर्मचारीलाई धम्की दिने व्यक्तिमाथि कारबाही अघि बढाइयो

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिइएको हो ।

दैलेख जिल्लाको दुल्लु नगरपालिकाका वडा सचिव कमल भण्डारीलाई ‘प्रकाश खड्का’ नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै अभद्र भाषामा धम्की दिएको भिडियो सार्वजनिक भएको थियोे ।

विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रयोग गर्ने तथा धम्क्याउने गतिविधि पूर्णतः निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।

कार्यालयले सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलप्रति सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र कामकारबाही अघि बढाउन सबै सरकारी निकाय, स्थानीय तह तथा कर्मचारीलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा राज्यको प्रशासनिक गरिमा अक्षुण्ण राख्न तथा संस्थागत साख जोगाउन सरकार दृढ रहेको पनि उल्लेख गरिएको छ ।