अध्यादेशको अध्याय सकिएलगत्तै संसद् अधिवेशन आह्वान

संसद् अधिवेशन स्थगन र अध्यादेश बदनियतपूर्ण रहेको प्रमाणित 

काठमाडौं । अध्यादेशको अध्याय सकिएलगत्तै सङ्घीय संसद्का दुबै सभाको अधिवेशन आह्वान भएको छ । 

मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे हो ।

राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो । राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भए पनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो । 

संसद् अधिवेशन स्थगन गरेर यो अवधिमा सरकारले ८ वटा अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो । 

यसबाट बदनियतपूर्ण तरिकाले संसद् अधिवेशन स्थगित गरेर जनप्रतिनिधि मुलक संस्थालाई छलेर अध्यादेशमार्फत् मनपरी कार्य गर्न सरकार लागिरहेको पुष्टि भएको छ । 

एक पटक आह्वान भएको संसद् अधिवेशन स्थगन गर्ने र लगत्तै अध्यादेश जारी गरेपछि पुनः अधिवेशन आह्वान भएको छ । 

यसैबीच, नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आपत्ति जनाउनुभएको हो । उहाँले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायहरूमाथि हस्तक्षेप गर्न खोजेको दावी गर्नुभयो ।

उहाँले सरकारले आफ्ना अनुकूल व्यक्तिहरूलाई महत्वपूर्ण संवैधानिक आयोगहरूमा नियुक्त गरी आयोगहरु आफ्नो नियन्त्रणमा राख्ने नियतले अध्यदेश ल्याएको बताउनु भयो । 

उहाँले अध्यादेशमार्फत भएका निर्णयविरुद्ध संसदमा सशक्त रूपमा आवाज उठाउने चेतावनी दिनुभयो । सबै अध्यादेश जारी भइसकेपछि मात्रै संसद बोलाइने सरकारको निर्णयले समेत सरकारको बदनियतको संकेत गरेको उहाँको भनाइ छ ।