काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रूपमा बोलाइएका प्रदेश सभापतिहरूले रिपोर्टिङ्ग गरेका छन् ।उनीहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रबाट नभई स्थानीय आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।
सुदूरपश्चिमका वीर बहादुर बलायरबाहेक अन्य सभापतिहरूले धारणा राखेका हुन् । बैठकमा गण्डकीका सभापति शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुनले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत भारतको ‘कांग्रेस आइ’ जस्तो हुनसक्ने बताएका छन् ।
प्रदेश १ का सभापति उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले पनि केन्द्रबाट गठबन्धन गर्न नहुने जोड दिएका छन् । गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नु पर्ने उनीहरूको भनाई छ ।
बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले नेकपा (माओवादी केन्द्र) को प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस नील हुने बताउनुभयो । माओवादी केन्द्रले जसले विगतमा जितेको त्यो ठाउँमा उसैलाई छाड्ने प्रस्ताव राखेको छ ।
माओवादी केन्द्रले एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नु पर्ने बताउँदै आएको छ। त्यसो गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको शाहीको भनाई छ ।
खबर बजार । ११ चैत्र २०७८, शुक्रबार १८:३६