काठमाडौँ। नेपाली कांग्रेसले आगामी निर्वाचन लक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ।
भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो।प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो। उनका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ।
पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ
प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताए।
त्यस्तै, सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन गरेको छ । यी हुन खटिने कर्णालीका प्रतिनिधिहरू: रुकुम पश्चिम: कृष्णकिशोर घिमिरे
सल्यान: सीता देवकोटा
जुम्ला: रंगमति शाही
मुगु: कान्तिका सेजुवाल
कालिकोट: जानकी सिंह
जाजरकोट: सिताकुमारी राना
दैलेख: राजीवविक्रम शाह
सुर्खेत: सन्जयकुमार गौतम
खबर बजार । ७ भाद्र २०७९, मंगलवार १७:११