आउँदो चुनावमा १५० सिट जित्छौं, दुनियाँ चकित पर्नेछ : ओली

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गर्नुभएको छ । बुधबार कञ्चनपुर पुगेका ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने दाबी गर्नुभएको हो ।

ओलीले भन्नु भयो, ‘यो गठबन्धन आफैँ बनेको होइन अरू कसैले टाउको जोडिदिएको हो। उनीहरू आफैँ जुटेका पनि होइनन् आफैँ फुट्दैनन्। तर, हामीले आगामी निर्वाचनमा एक्लै प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छौँ।’

उहाँले एमालेले अरूका बलमा नभई जनताको मतले जित्ने दाबी गर्नुभयो । गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको उहाँको भनाइ छ। गठबन्धनको फुर्ति मंसिर ४ सम्म मात्र रहेको उहाँको दाबी छ।

यस्तै, उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाउनु भयो । महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँग कुरा गर्न नसकेको उहाँको आरोप छ ।

लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको उहाँको भनाइ छ।