१०० भन्दा कम सिट लिँदा कांग्रेसभित्र विद्रोह हुन सक्छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेकोले कांग्रेसलाई १०० छाड्नुपर्ने बताउनु भएको छ ।

१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताउनु भयो ।

कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताउनु भएको हो ।

‘१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ?,’ कोइरालाले बताउनु भयो, ‘तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ।’

उहांले कांग्रेसमा चुनाव उठ्न धेरै नेता तथा कार्यकर्ता आकांक्षी रहेकोले व्यवस्थापनमा कठिनाइ रहेको पनि बताउनु भयो ।

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताउनु भयो ।

‘यो कुरा नेतृत्वसामु हामीले भनिरहेका छौं,’ उहांले भन्नुभयो । कांग्रेस अहिले अप्ठेरो अवस्थामा रहेको पनि उहांले बताउनु भयो ।

सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने केन्द्रीय समितिबाटै निर्णय गरेको र गठबन्धन बहुमत ल्याउनका लागि गर्ने भनिएकोले कम्तीमा १०० सिट लिनुपर्ने कोइराला भनाई छ ।

विचार र सिद्धान्त नमिल्ने माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएकोले परिणामबारे अहिले नै भन्न नसक्ने उहांले बताउनु भयो ।

‘यो गठबन्धन एमालेलाई जित्न नदिन र भोलि सरकार बनाउनका लागि गरिएको हो। विचार र सिद्धान्त केही नमिल्ने दलसँग गठबन्धन गरिएको छ,’ उहांले भन्नु भयो, ‘परिणाम कस्तो आउँछ चुनावपछि थाहा हुन्छ। अहिले म केही भन्न सक्दिनँ।’

कांग्रेस नेतृत्वमै सरकार हुँदा मिडिया काउन्सिल र सत्य निरूपण तथा मेलमिलाप विधेयक आएको उहांले बताउनु भयो ।