
काठमाडौँ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभएको छ ।
त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।
यसैबीच, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम छ।
निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिई त्यसबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ ।
यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ । आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।




खबर बजार । २३ आश्विन २०७९, आईतवार ०७:३५