काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा भारतसँग भएको समस्या ऐतिहासिक प्रमाणको आधारमा समाधान गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा सरकारको धारणा सार्वजनिक भएको हो ।
सरकारले नेपाली भुभागमा कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आफूहरूले आग्रह गर्दै आएको जनाएको छ ।
नेपाल सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्कीले ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको बताउनुभयो ।
भारतले नेपाल सरकारलाई आफ्नो अडान बताइसकेको भनेर वक्तव्य जारी गरेको भोलिपल्ट नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
खबर बजार । २ माघ २०७८, आईतवार ११:०३