काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत आज मतदानको दिन । मतदाताहरुले आज आफ्नो मतदाता नामावली रहेको स्थानमा रहेको मतदान केन्द्रमा गई आफूलाई मन परेको दल र उम्मेद्वारका चिन्हमा मत संकेत गर्नुपर्छ ।
आज विहान ७ बजेदेखि सुरु भई बेलुकी पाँच बजेभित्र मतदान सक्नेगरी निर्वाचन आयोगले तयारी गरेको छ । यस पटक मतदाताले चार वटा मतपत्रमा एउटा एउटा मन परेको चिन्हमा मत संकेत गरी बाकसमा खसाल्नुपर्ने छ ।
पहिलो मतपत्रमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्येक्ष तर्फ उम्मेद्वार भएका दल वा उम्मेद्वारको चिन्हमा मत संकेत गर्नुपर्ने हुन्छ भने दोस्रोमा प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ मन परेको दलको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्छ ।
यसैगरी तेस्रो मतपत्र लिई प्रदेश सभा सदस्यको लागि प्रत्येक्षतर्फ उम्मेद्वार भएका दल वा उम्मेद्वारको चिन्हमा मत संकेत गर्नुपर्ने हुन्छ भने दोस्रोमा प्रदेश सभा सदस्यको लागि समानुपातिक तर्फ मन परेको दलको निर्वाचन चिन्हमा मत संकेत गरिसकेपछि कार्य समाप्त हुनेछ र बाहिरिनुपर्ने हुन्छ ।
आयोगकाअनुसार अपांगता भएका व्यक्ति तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदातालाई सहज हुने गरी मतदान केन्द्र निर्माण गरिएको छ । देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
खबर बजार । ४ मंसिर २०७९, आईतवार १०:०३