

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते बेलुकी ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । यो प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । यस्तै नेकपा माओवादी केन्द्र को ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको सात, नेकपा एकीकृत समाजवादीको चार, राप्रपा एक र स्वतन्त्र एक प्रदेश सभा सदस्य छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेश सभा सभामुखको चुनाव पुस २८ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले कार्यतालिका सार्वजनिक गर्दै पुस २८ गते सभामुखको चुनाव गर्ने जानकारी गराएको हो ।

खबर बजार । २० पुष २०७९, बुधबार १४:३४