प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी पेश


विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्नु भएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गर्नु भएको हो ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको आज बेलुका ५ बजे सम्मको समय दिनुभएको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उहाँलाई समर्थन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला लगायत नेताहरु प्रदेश प्रमुखको कार्यालय पुग्नु भएको थियो ।