कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णालीमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

नवनियुक्त मन्त्रीमध्ये वेदराज सिंहलाई आर्थिक मामिला तथा योजना, खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्रालय र कृष्णकुमार बिसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले आज ऊर्जामन्त्रीको रूपमा आज शपथ लिनु भएको छ ।

साथै, कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ वटा नै बनाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा मन्त्रालय छुट्टै बनाएको थियो ।

यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभिएको थियो ।