दुई जना मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन: नेता खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्‍मानित नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताउनु भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘अब दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुई जना मन्त्री बनायौँ, कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकतावद्ध गर्ने हो ।’

उहाँले पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधानशत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादकाबिरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरुलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले व्यापक जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्छ । उनीहरुलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ ।’

उहाँले नेकपा एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ नि पार्टीको । पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो । महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ । महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ । हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन् । हामी पार्टी निर्माणको चरणमा छौँ ।’

उहाँले नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा ठूलो असन्तुष्टि रहेको बताउनु भयो ।

‘अहिले एमालेभित्र व्याप्त असन्तुष्टि छ । देशव्यापी रुपमा । त्यो नेतृत्वले नेतृत्व लिन सकिरहेको छैन । त्यस्तै माओवादीभित्र छ । अहिले मोर्चा भएको हुनाले धेरै आलोचना गर्दिन ।’ उहाँले भन्नुभयो ।

उहाँले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताउनु भयो ।

‘नेपाली समाजमा संकट नै संकटको श्रृंखला छ, राजनीतिक संकट, दिशाहीनता, खिचडी सरकार बनाएर जान बाध्य छौँ । न क्रान्तिकारी कार्यक्रम बनाउन सक्छौँ, त्यो सरकारमा, राजनीतिक दिशा कता जाने अन्योल देखिएको छ, आर्थिक क्षमता कमजोर बन्दैछ ।’

सामन्तवादका अवशेषहरु समाजमा व्याप्त रहेको उहाँको भनाइ छ ।