सडकमै सुतेर राहत शिक्षकहरुको प्रदर्शन

काठमाण्डौ । राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।

गएको असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।