सुन तस्करी छानबिनका लागि ३ सदस्यीय आयोग बनाउन दलहरु सहमत

काठमाडौं । सुन तस्करी छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउन दलहरु सहमत भएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउनुभएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सो सहमति भएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वको सो सुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति गरिएको प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उहाँले बताउनुभयो ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन र संयुक्त राष्ट्र संघको महासभाको भ्रमणबारे सो आयोग बनाउने बारे पनि संसदलाई जानकारी गराउनु हुनेछ । प्रधानमन्त्रीले संसद बैठकमा आयोग बनाउने र आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने विषयमा पनि बैठकमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।