एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक देखिन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताउनु भएको छ । उहाँले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गर्नु भएको छ ।

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।

आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उहाँले बताउनु भयो ।

यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति समेत बनाएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनु भयो ।

‘यस प्रकरणमा कतै कसैबाट कानुन विपरीतको कामकारबाही भएगरेको पाइएमा, जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उहाँले भन्नु भयो, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’