सुर्खेत । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ ।
बजार क्षेत्रमा साना सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् भने लामो दुरीका सवारी साधन करिव ठप्प जस्तै छन् । अत्यावश्यक सवारीलाई सुरक्षाकर्मीले स्कर्टिङ्ग गरेर गन्तव्यसम्म पुर्याउन थालेका छन् । बजार र व्यापारमा भने धेरै असर परेको देखिन्छ । पसल तथा व्यापार बन्द भएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
स्थानीय प्रशासनले ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेको छ । गृह मन्त्रालयले यसअघि मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।
खबर बजार । ४ फाल्गुन २०७८, बुधबार १३:३८