

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । जोखिममा परेका बस्तीलाई सारेर एकीकृत बस्ती निर्माणको तयारी थालिएको हो ।
कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका –७ मा ४०, बारेकोट गाउँपालिका–४ र ५ मा ६० घर निर्माण हुन लागेका हुन् । यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८०, रास्कोट गाउँपालिका–७ मा एक सय घर निर्माण हुने छन् ।
मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।
हुम्लाको चङ्खेली गाउँपालिका–६ मा रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका–१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ ।
आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको चरणमा गएको हो ।अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रोपटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो ।
एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो । अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको छ ।

खबर बजार । २५ फाल्गुन २०७८, बुधबार १७:१८