घरदैलोमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

दैलेख । आफ्नै घर नजिक सामाजिक सुरक्षा भत्ता बुझ्न पाएपछि दैलेखको गुराँस गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।

भत्ता हस्तान्तरण गर्दै वडा नं. ८ का अध्यक्ष दीपेन्द्र ओली ।
भत्ता हस्तान्तरण गर्दै वडा नं. ७ का अध्यक्ष नन्द बिसी ।
भत्ता हस्तान्तरण गर्दै वडा नं. ३ का अध्यक्ष काशिराम शर्मा ।

बेैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा गुराँस गाउँपालिकाको बैंकको चाप, भुगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि वडामै भत्ता हस्तान्तरण गरिएको हो । भत्ता वडा कार्यालयबाटै लिन पाएपछि आफू खुसी भएको गुराँस ८ का ज्येष्ठ नागरिक लालबहादुर गैरेले बताउनुभयो ।

“पहिला भत्ता गाविसबाट पाइन्थ्यो । संघीयता आएपछि गाउँपालिकाबाट दिन थाले, टाढा जानुपर्ने बाध्यता आयो । अहिले यहीँबाट पाइयो ।” उहाँले भन्नुभयो, “टाढाबाट गाडिमा जाऊ, रिङ्गाटा लागेको हुन्छ । चिसो मौसम, बैंकमा लाइन लाग्नुपर्ने । त्योभन्दा त यो धेरै राम्रो ।”

सुदुरपश्चिम प्रदेशको अछामदेखि कर्णाली प्रदेशकै जाजरकोट र सुर्खेतसम्म फैलिएको गुराँस गाउँपालिकाको केन्द्र (बैंक भएको ठाउँ) रानीमत्ता पुग्न ज्येष्ठ नागरिकलाई कठिनाई हुने गरेको छ ।

गाउँपालिका सरकारका प्रवक्ता एवं गुराँस ८ का वडाअध्यक्ष दीपेन्द्र ओलीले भन्नुभयो, “भुगोलमा मात्रै ठूलो होइन, समुन्द्री सतहदेखि २ हजार ३०० भन्दा धेरै उचाइमा रहेको रानीमत्तामा चिसोको कारण बुढा बा-आमाको स्वास्थ्यमा समस्या हुने भएपछि यसो गरिएको हो ।”

उहाँकाअनुसार ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधि र कर्मचारीलाई मुञ्जुरीनामा दिएपछि बैंकसँगको सहकार्यमा रकम भुक्तानी गरिएको हो ।

घरदैलोमै भत्ता हस्तान्तरण गर्दै वडा नं. ८ का सदस्य महेश खत्री

गुराँस गाउँपालिकाले बैंकको घुम्ति शिविरमार्फत् वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकोमा हाल बैंकको तयारी नपुगेकोले सबै वडा कार्यालयमार्फत् सहज बनाइएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीको भनाई छ ।

गुराँसमा कार्यक्षेत्र बनाएको प्रभु बैंकको प्रदेश कार्यालय सुर्खेतले घुम्ती शिविर सञ्चालनको लागि व्यवस्थापकीय काम चलिरहेको जनाएको छ ।