
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट घर फर्कनुभएको छ ।

पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उहाँ अस्पतालबाट भक्तपुरको गुण्डुस्थित निवास फर्कनुभएको उहाँकाे सचिवालयले जनाएकाे छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो ।

पक्राउपछि काठमाडौं प्रहरीले सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।
प्रहरीले अस्पतालमै हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो । त्यसैक्रममा ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमा ओली चैत २६ गते हिरासतमुक्त हुनुभएको थियोे ।
अस्पतालमै प्रहरीले ओलीलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो । तर, ओलीले त्यो दिन अस्पतालबाट डिस्चार्ज लिनुभएन ।
त्यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो । जसको शल्यक्रिया चैत ३० गते भएको थियो । त्यसयता ६ दिन अस्पतालमा उपचारपछि ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।




खबर बजार । ५ बैशाख २०८३, शनिबार २०:४८