मृत्युलाई ‘ह्याँकुला’ले मिच्ने ओली, आधा दर्जन रोगसँग लडाई जारी 

दुइवटा शल्यक्रियापछि स्वास्थ्य लाभ गर्दै

काठमाडौँ । स्वास्थ्यको सन्दर्भमा कुरा गर्दा दुई वटा भनाइ जहिले पनि छलफलमा आउछन् । पहिलो ‘‘डाक्टरले छुनासाथ आधा समस्या निको भइसक्छ’’ र दोस्रो “आत्मबल हुने हो भने जस्तोसूकै स्वास्थ्य समस्यालाई जित्न सकिन्छ’’ ।

पहिलोवाला नेपालमा डाक्टर वा स्वास्थ्यकर्मीले विरामीप्रति गर्ने व्यवहारसँग जोडिन्छ भने दोस्रो पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग ।

पटक पटक विभिन्न स्वास्थ्य समस्या झेल्दै आउनुभएका ओली अहिले पनि ६ वटा स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ ।

केहिदिनअघि पित्तथैलीमा पत्थरी र हर्नियाको शल्यक्रिया गर्नुभएका ओलीको लडाई राजनीतिक हिसाबले पनि आफ्नो पार्टीको एउटा समूहसँगै अरू सबै पार्टीसँग तथा स्वास्थ्यको हिसाबले हाइड्रोनेफ्रोसिस, मधुमेह मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी र कोलेलिथियासिससँग भइरहेको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले जनाएको छ ।

विगतमा पञ्चायतविरुद्धको राजनीतिक आन्दोलनको क्रममा १४ वर्ष जेल जीवन बिताउने क्रममा टि.वि. लाई जित्नुभएका ओली पटक पटक स्वास्थ्य समस्याबाट ग्रसित हुनुभयो, तर उहाँले हालसम्म सबैलाई जित्नुभएको छ ।

पार्टीको नवौँ महाधिवेशनको ठीक अगाडि ‘फङ्गल इन्फेक्शन’बाट ग्रसित ओलीले त्यसअघि मिर्गौलाको प्रत्यारोपण गर्नुभएको थियोे । त्यसलेसमेत काम गर्न छोडेपछि दोस्रो पटकसमेत उहाँले मिर्गौलाको प्रत्यारोपण गर्नुभय‍ो ।

यी सबैमा स्वास्थ्य अवस्था सन्तुलित भइरहेको छ । केहिबाहेक अधिकांश स्वास्थ्य समस्याको उपचार ओलीले नेपालमै गराउनुभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

उनीहरुकाअनुसार ओलीको आत्मबल ज्यादै ज्याद्रो छ । जसले हालसम्म देखा परेका प्राय: स्वास्थ्य समस्यालाई ह्याँकुलाले मिचेको छ । विरामी पर्दा र शल्यक्रियाको समयमा धेरैले ओलीको मृत्युसम्मको अड्कल काटे । तर, ओलीको आत्मबल/ह्याँकुलाले त्यसलाई मिच्नुभयो ।

प्रा. डा. प्रेमराज ज्ञवालीले कुनै बेला सञ्चार माध्यमलाई ओलीको आत्मबलप्रति आफूहरू नतमस्तक बनेको बताउने गर्नुभएको थियोे ।

सबैजसो विरामीलाई शल्यक्रिया गर्दा डाक्टरले भन्ने शब्द हुन्छ, ‘‘नडराउनुहोला-केही हुँदैन’’ प्रा.डा. ज्ञवाली भन्नुहुन्छ, ‘‘तर शल्यक्रिया गर्दा ओलीमात्रै यस्तो विरामी देखियो, जसले डाक्टरलाई नै भन्नुभयो- नडराउनुहोला डाक्टर सा’व ! केही हुँदैन’’ । यसअर्थमा उहाँले काललाई ‘ह्याँकुला’ले मिच्नुभएको छ ।

पछिल्लो पटक पित्तथैलीको शल्यक्रियापछि ओली गुण्डुस्थित निवासमा आराम गरिरहनुभएक‍ो छ । उहाँलाई भेटेर फर्कनेहरुको भनाई पनि यस्तै छ ।

एमाले नेता विशाल भट्टराईका अनुसार हालै शल्यक्रिया गराएका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र उहाँ छिट्टै सक्रिय राजनीतिमा फर्किने तयारीमा हुनुहुन्छ ।

भट्टराईका अनुसार अस्पतालबाट डिस्चार्ज भएको दोस्रो दिनमै निवासमा भेट्दा ओलीको स्वास्थ्य सुदृढ देखिएको थियो । ‘‘यत्तिको उमेर र जटिल स्वास्थ्य अवस्थाका बाबजुद पनि उहाँलाई हसिलो मुद्रामा देख्दा उत्साहजनक लाग्यो’’,  उहाँले उल्लेख गर्नुभएको छ ।

पित्तथैलीमा २४ एमएमको पत्थरी देखिएपछि गरिएको शल्यक्रियासँगै हर्नियाको समेत शल्यक्रिया गरिएको जानकारी उहाँले दिनुभएको छ । भट्टराईका अनुसार ओलीको उच्च मनोबल नै स्वास्थ्य सुधारको प्रमुख कारण बनेको छ।

भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट गर्नुभएको छ ।

अस्पतालमा उपचारका क्रममा उनीहरू भेट्न आए पनि एकताको विषयमा कुनै कुराकानी नभएको ओलीको भनाइ छ ।

भेटका क्रममा अध्यक्ष ओलीले पार्टी एकताको सन्दर्भमा स्पष्ट धारणा राख्दै एमालेको सिद्धान्त, नीति र कार्यक्रम स्वीकार गर्ने शक्तिसँग मात्र एकता सम्भव हुने बताउनुभएको छ । साथै, एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको नीति र नेतृत्व स्वीकार गर्नेहरूसँग मात्र सहकार्य हुनसक्ने उहाँले बताउनुभएको छ ।

ओलीले पूर्ण रूपमा स्वास्थ्यलाभपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता तथा जनतामा आशा जगाउने कार्यक्रम अघि सार्ने तयारीमा रहेको पनि बताउनुभएको छ ।

यसैबीच, अध्यक्ष ओलीले आफूविरुद्ध गरिएको धरपकडलाई प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त भन्दै अदालतले न्याय दिएको उल्लेख गर्नुभएको छ ।