एसईईको नतिजा प्रकाशित, ग्रेडवृद्धि परीक्षा असार १ देखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र एक लाख ४६ हजार ५ सय ७ परीक्षार्थी ननग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार ४८ हजार ३ सय ९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३ सय ७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

त्यस्तै, ९४ हजार २ सय २२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९ सय ७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १ सय ९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिन पाउँछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो ।

ग्रेडवृद्धि परीक्षा असार १ देखि :

एसईईमा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।

बोर्डकाअनुसार यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५ सय ७ नन्ग्रेडेड छ । गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४ सय २१ सहभागी थिए ।

बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो । ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ ।

यस्तै यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा ११ को भर्ना तयारी थालिने जानकारी दिएको छ । शिक्षा मन्त्रालयले सरोकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठनपाठनको मिति तय गर्नेछ ।