कर्णालीका मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेटवार्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नु भएको छ ।

मङ्गलवार भएको भेटमा सङ्घीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरूलाई परिरहेको मानसिक स्वास्थ्य सम्बन्धी असर, कर्णालीको सडक गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा छलफल भएको थियो । स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।

भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरूका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरूको बारेमा चासो राख्नु भएको थियो । उहाँले द्वन्द्वपीडितहरूको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिनु भएको थियो ।

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरेको बताउनु भयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको पनि बताउनु भयो ।