अठार वर्षमुनीको महिला साफ च्याम्पियनसिपको उद्घाटनमा नेपालले भारतसँग खेल्दै

काठमाडौं । अठार वर्षमुनीको महिला साफ च्याम्पियनसिप आजदेखि भारतको जमशेदपुरमा सुरु हुँदैछ । प्रतियोगिताको उपाधि लक्ष्यका साथ शनिबार भारत प्रस्थान गरेको नेपाली टिमले उद्घाटन खेलमा आयोजक भारतको सामना गर्दैछ ।

प्रतियोगिताको पहिलो खेल आज साँझ सवा ७ बजे सुरु हुनेछ । आज नेपाल आयोजक भारतलाई हराउँदै प्रतियोगिताको सुखद् सुरुआत गर्न चाहन्छ ।

भारत भने लामो समयदेखि १७ वर्षमुनीको विश्वकप फुटबलको तयारी गरिरहेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक दर्शन भत्तराजले घरेलु टिमविरुद्ध खेल्न कठिन हुने भए पनि उत्कृष्ट खेल प्रस्तुत गर्ने बताउनुभएको छ ।

यसअघि बंगलादेशमा आयोजना भएको यू- १९ साफ प्रतियोगितामा नेपालले भारतसँग हार बेहोरेको थियो । त्यसकारण पनि नेपाल त्यो खेलको बदला लिने दाउमा भने हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोली खेल्दैछन् ।

च्याम्पियनसिप डबल राउण्ड रोबिन ढाँचामा खेलाइने छ, जसमा उच्चतम अंक प्राप्त गर्ने टोली च्याम्पियन हुनेछ ।

प्रिति राईको कप्तानीमा रहेको नेपाली टिममा सावित्री किसान, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली माछामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई रहेका छन् ।