स्वरोजगार हुँदै अदुवा उत्पादक कृषक

कर्णालीको अदुवा युरोपसम्म...

सुर्खेत । अदुवा प्रशोधन उद्योगको कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका कृषकहरू आर्थिक आम्दानीमा जोडिएर स्वरोजगार हुन थालेका छन् ।

ठूलो मात्रमा अदुवा प्रशोधन गरि बजारिकरण गर्नेगरी सुर्खेतको भेरीगंगा नगरपालिका, कालिदमारमा उद्योग सञ्चालन भएपछि सो सँग जोडिएर सुर्खेत, सल्यान, रुकुमपश्चिम लगायतका जिल्लाका कृषक आम्दानीमा लागेका हुन् ।

यसअघि पनि थोरै-थोरै अदुवा खेति गर्ने गरेका कृषकहरू हिजोआज व्यावसायिक रुपमै उत्पादनमा जोडिएका हुन् ।

अदुवा प्रशोधन उद्योगको कारण उत्पादन भएको अदुवा खेर नगएको र बजार ढुक्क भएकोले आफूहरू खुसी भएको सल्यानका कृषक मदन साहुले बताउनुभयो ।

पछिल्लो समय कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि कृषकले अदुवा उत्पादनलाई पनि वृद्धि गर्न थालेका छन् । अदुवासँगै यहाँ उत्पादन भएको बेसार पनि विदेश निर्यात हुन थालेको हो ।

कर्णालीमा उत्पादन हुने अदुवा विषादीरहित, अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपबाट यसको माग बढी भइरहेको द अर्गानिक भ्याली उद्योगका सञ्चालक समिर नेवाले बताउनुभयो ।

नेवाकाअनुसार एक सिजनमा यो उद्योगबाट औसतमा ६ लाख युरोभन्दा बढीको अदुवा र बेसार निर्यात हुने गरेको छ ।

उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । यसकारण पनि यो उद्योगले किसानबाट खरिद गरिएको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको हो ।

पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो ।

अदुवा उत्पादनका लागि कर्णालीको हावापानी उपयुक्त छ । यहाँका सुर्खेत, सल्यान र रुकुमपश्चिम लगायतका जिल्लामा अदुवा उत्पादन हुन्छ । तर उद्योगका अनुसार सबैभन्दा बढी अदुवा सल्यानमा उत्पादन हुन्छ ।