
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हत्या लगत्तै आफैले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।
वडाध्यक्ष कोइरालाले भन्नुभयो, ‘मलाई बिहानपख फोन गरेर प्रहरीको नम्बर मागेको थियो । मसँग श्रीमती मारेको कुरा गरेन । तर दुबईमा भएको छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई भने फोन गरेर श्रीमती मारेँ भनेको रहेछ ।’
उनले प्रहरीलाई दिएको जानकारी अनुसार प्रहरी घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए ।




खबर बजार । ११ श्रावण २०८२, आईतवार १०:३५