भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ : राजेन्द्रप्रसाद लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताउनु भएको छ । काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देशमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई कुनै पनि ढंगले उन्मुक्ति नमिल्ने व्यवस्था बनाउनुपर्ने बताउनु भयो ।

‘भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री सबैलाई कानुनको दायराभित्र ल्याएर कारबाही गर्न सक्ने व्यवस्था बनाउनुपर्छ । हामीले मौका पायौँ भने नागरिक आयोग गठन गरेर ०४५ साल पछिका सबै नेताको सम्पत्ति छानबिन गर्छौं । अहिले सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको छ,’ लिङ्देनले भन्नु भयो, ‘बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ ।’

उहांले आफूले पाँच वर्षसम्म संसद्‌मा एक्लै प्रतिपक्षीको रुपमा भूमिका निर्वाह गरेको बताउनु भयो । ‘मैले पाँच वर्षसम्म जे गरेँ, त्यसलाई कसरी हेर्नुभएको छ ?,’ उहांले भन्नु भयो, ‘मैले त म एक्लै भएँ, तपाईंहरूले पत्याउनुभएन । म अब मंसिर ४ पछि साथीहरू लिएर आउँछु, हेर्नुहोला भनेर चुनौती दिएर आएको छु ।’

उहांले राप्रपाले कसैले पनि भ्रष्टाचार गर्नेबारे सोच्नै नसक्ने थिति सहितको देश बनाउन चाहेको बताउनु भयो ।