
कैलाली । सुदुरपश्चिका जनप्रतिनिधिहरूको भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित नेपाली काँग्रेसले विभिन्न संकल्प पारित गरेको छ ।
काँग्रेस अन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कैलालीको धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर्क्रियाबाट कुल १५ बुँदे संकल्प पारित गरिएको हो । कार्यक्रममा स्थानीय सरकारदेखि संघीय तहसम्मको नीति कार्यान्वयन र सेवा प्रवाह सुधारबारे छलफल गरिएको छ ।
संकल्पअनुसार काँग्रेसले नेतृत्व गरेका स्थानीय तहहरूलाई नागरिकमुखी नीति अपनाउँदै उत्तरदायी र जवाफदेही शासन प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय सरकारका गतिविधिलाई सुशासनयुक्त र परिणाममुखी बनाउने विषयमा जोड दिइएको छ ।
कानुनी कार्यान्वयनका क्रममा मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको छ ।
भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्दा पहिलो प्राथमिकता नागरिकको आत्मसम्मानमा दिनुपर्नेमा काँग्रेसले जोड दिएको छ । त्यसैगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
मुक्त हलिया, मुक्त कमैया र वादी समुदायको जीविकोपार्जनलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने संकल्पसमेत पारित गरिएको छ ।
स्थानीय तहबाट प्रदान गरिने सार्वजनिक सेवाहरूलाई सरल, पहुँचयोग्य र प्रभावकारी बनाउने तथा एक स्थानीय तहमा देखिएका सफल अभ्यासहरूलाई अन्य तहमा समेत विस्तार गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी संवैधानिक व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० भित्र अनिवार्य रूपमा बजेट पेश गर्ने व्यवस्था कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाइएको छ ।




खबर बजार । २७ बैशाख २०८३, आईतवार २०:५०