
रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा रुपन्देहीबाट प्रतिनिधित्व गरेका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन् ।

संयुक्त घोषणापत्रमार्फत उनीहरूले पार्टी तथा पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जनाएका हुन् ।
केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर ज्ञवाली र मदन थारू रहेका छन् । त्यसै गरी जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्य तथा पालिका तहका विभिन्न पदाधिकारीसहित ३३ जनाले संयुक्त रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
केन्द्रीय सदस्य शरद ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने तथा निष्क्रिय बनाउने प्रवृत्ति बढ्दै गएको, उमा भुजेलमाथि गरिएको कारबाही र वसन्त श्रेष्ठको जिम्मेवारी खोसिएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै फरक विचार राखेकै कारण यस्ता कदम चालिएपछि नचाहेर पनि जिम्मेवारीमा बस्न नसकेको बताउनुभएको छ ।






खबर बजार । १२ असार २०८३, शुक्रबार १८:४१