

सुर्खेत । काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । रत्न राजमार्गको छिन्चु(धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका(२ पैसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेको एक जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुङगा खस्दा सवारी चालकभन्दा पछाडीको सिट बसेका दुइ जना घाइते भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । भगवतीमाई गाउँपालिका(२ का १७ वर्षीय पार्वती शाहीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ढुंगा लागेर शाही र वीरेन्द्रनगर(६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए । तर टाउकोमा गम्भीर चोट लागेकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
सुनारको दाइने कानमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका(३ का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीको नियन्त्रणमा छन् ।

खबर बजार । ११ श्रावण २०७९, बुधबार १६:४६