

काठमाडौं । पहिलो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।
सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । खेलको पाँचौं मिनेटमा ओलावले अफिजले हेडर गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए । मछिन्द्रले सुरुमै खेलमा अग्रता लिए पनि सातदोबाटोको लागि कप्तान सुदिप गुरुङको पासमा जर्डन जुनियर ओभानाले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि सदुपयोग गर्न सकेनन् ।
निर्धारित समयमा १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

खबर बजार । १७ फाल्गुन २०७९, बुधबार १९:४८