गत आर्थिक वर्षमा विदेश जाने युवाको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो नयाँ र पुन: श्रम स्वीकृति लिएर जानेहरुको संख्या हो ।

जेठसम्म ७ लाख १९ हजार ६७७ जना श्रमिक श्रम स्वीकृति लिएर उडिसकेका थिए । असार महिनामा थप ५१ हजार ६५० जनाले श्रम स्वीकृति लिएपछि कीर्तिमानले थप उचाइमा लिएको छ । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए ।

आर्थिक वर्ष २०७८/८९मा कुल ६ लाख ३७ हजार १३३ जना श्रमिक विदेशिएकोमा यो वर्ष १ लाख ३४ हजार २१४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

विदेशमा घरेलु कामदार पठाउन लागेको रोक नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसका कारण महिला श्रमिक अवैध भएर झन् असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन् । सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन् ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा २ लाख ४ हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । त्यसपछि लगातार बढिरहेको विदेशिने युवाको संख्या आर्थिक वर्ष २०७१/७२ मा उच्च विन्दुमा पुगेको थियो । नयाँ श्रम स्वीकृति लिएर जानेको संख्यामा भने आर्थिक वर्ष २०७०/७१ मा रेकर्ड कायम भएको थियो । सो वर्ष ५ लाख २७ हजार ८१४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।

महाभूकम्प गएको आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८८७ जनाले नयाँ श्रम स्वीकृति लिए पनि पुन: श्रम स्वीकृति लिएर जानेको संख्या उच्च हुँदा कुल संख्यामा रेकर्ड बनेको थियो । सो वर्ष पुन: श्रम स्वीकृति लिएर १ लाख ८० हजार १४५ जना विदेश जाँदा कुल ६ लाख ९३ हजार जना विदेश गएको तथ्यांकमा देखिन्छ ।

आर्थिक वर्ष २०७१/७२ पछि लगातारजसो घटिरहेको वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड–१९ महामारीपछि भने फेरि उकालोतिर छ ।

२०६२/६३ को जनआन्दोलन यता करिब ५८ लाखभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएको सरकारको तथ्यांकमा देखिन्छ ।

अहिले मलेसिया, साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन् । युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देशमा जान थालेका छन् । यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि विदेशिनै पर्ने आम नियति नफेरिने संकेत गरिरहेको छ ।

विकासका चरणमा रहेको खाडी मुलुकले नेपाली अदक्ष र सस्तो जनशक्तिको लाभ उठाइरहँदा नेपालको लागि यो दशकको अन्तिम आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै युवा श्रमशक्ति निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ ।