आइसिसी यू–१९ विश्वकप क्रिकेट: नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य

काठमाण्डौं । आइसिसी यू–१९ विश्वकपअन्तर्गत सुपर–६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो ।

बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके । ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे ।

खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो ।

ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए । लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे ।

त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे । २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए ।

देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३–३ रनमा आउट भएका थिए । यस्तै आकास चन्द पनि शून्यमै पेभिलियन फर्के । अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे। नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको रुपमा आउट हुनुअघि ९ रन बनाए ।

बलिङमा बंगलादेशका रोहानत बोर्सनले ४ विकेट लिए। उनले ८.५ ओभरमा २ मेडन राख्दा १९ रन मात्र दिए । शेख जीवनले ३ विकेट लिए। शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए ।

सुपर–६ को शीर्ष दुईमा पर्दै सेमिफाइनल पुग्ने सम्भावना नेपालको यसअघि नै समाप्त भइसकेको छ । त्यसैले नेपालका लागि आज बंगलादेश र शुक्रबार भारतविरूद्धको खेल प्रतिष्ठाको लडाइँ हो ।