
झापा । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह निर्वाचित भएको जिल्ला झापामा रासायनिक मलको अभाव भएको छ ।

आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्छ । हालसम्म करिब दुई हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ ।
त्यसैगरी करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ ।
उनका अनुसार, मल अभावकै कारण धेरै किसानले अग्र्यानिक (जैविक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन् । पछिल्ला वर्षहरूमा अग्र्यानिक मलप्रति किसानको आकर्षण बढ्दै गए पनि यसको प्रभाव देखिन केही समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि किसानहरू अझै पनि रासायनिक मलमै बढी निर्भर छन् ।
हालसम्म जिल्लामा ६१ दशमलव आठ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । किसानले तत्काल पर्याप्त परिमाणमा रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई सहज बनाउन तथा वैकल्पिक मलको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।




खबर बजार । ३ श्रावण २०८३, आईतवार २०:२९