
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशन सुरु भएको छ । भक्तपुरको सल्लाघारी चौर अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाटे झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

एमाले प्रविधिमैत्री पार्टी भएकाले अत्याधुनिक प्रविधिबाट महाधिवेशनको उद्घाटन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ ।
उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलीले सरकारले चुनावको वातावरण बनाउन नसकेको दावी गर्नुभएको छ । उहाँले संवाद छाडेर सरकारले दलहरूमाथि निषेध गर्नतर्फ केन्द्रीत रहेको बताउनुभयो ।

चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारको राजनीतिक दल विरोधी षड्यन्त्र, बहसको सट्टा मुद्दा, नेताको राहदानी रोक्का र स्थान हदको काममा लागेको ओलीले बताउनुभयो ।
उहाँले जनताले लोकतान्त्रिक विधिबाट निर्वाचन चाहेको बताउँदै डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत राख्ने एमाले चुनावबाट भाग्छ भन्ने नसोच्न चेतावनी दिनुभयो ।





खबर बजार । २७ मंसिर २०८२, शनिबार १६:०८