
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि राष्ट्रियताका पक्षधरले त्यसको विरोध गरेका छन् ।

जनताको सार्वभौम संसद्को रोष्ट्रममा उभिएर राष्ट्रिय अखण्डतामा आँच आउने अभिव्यक्ति दिएको भन्दै सीमाविद्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेकका राजनीतिक दलका नेतालगायतले अभिव्यक्ति खेदजनक रहेको प्रतिक्रिया दिएका हुन् ।
सत्तासीन रास्वपाका नेता, साँसद् र कार्यकर्ता प्राय: मौन छन् भने प्रतिक्रिया दिइहालेमा रक्षात्मक स्वरुपमा प्रतिक्रिया दिइरहेका छन् ।
अभिव्यक्तिलाई लिएर भारतीय मिडियामार्फत् भारत पक्षधरहरुले भने उत्साह प्रकट गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपाल–भारत सीमा सम्बन्धमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य आफूहरूले अध्ययनका क्रममा थाहा पाएको जवाफ दिनुभएको थियोे ।
उहाँले भन्नुभएको छ, “तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ, यो कुरा चाहिँ अस्ति भरखरै थाहा पायौँ । त्यही भएर दुवै देशले अध्ययन गरेर हामीले मिचेका छौँ, उहाँहरूले मिच्नुभएको छ, त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौँ ।” लगत्तै रास्वपाका साँसद्हरुले समर्थनमा गडगडाहट ताली बजाएका थिए ।




खबर बजार । १८ जेष्ठ २०८३, सोमबार ०६:४२