सुर्खेत । निवर्तमान सांसद ठम्मर विष्टसहित नेकपा (माओवादी केन्द्र) को नगर कमिटी तथा नेकपा (एकीकृत समाजवादी) र नेपाली काङ्ग्रेसका दर्जनौँ नेता कार्यकर्ताले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टसहित नेता कार्यकर्तालाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गरेका हुन् ।
माओवादी केन्द्रको गुर्भाकोट नगर कमिटी एमालेमा समाहित हुनुको साथै एस र काङ्ग्रेस परित्याग गरेर विष्टसहित, जनक सुनार, गोरख शाही, रतन बिक, चन्द्रा बुढा, श्याम कँडेललगायतले एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र गुर्भाकोट नगर कमिटीका अध्यक्ष मोती बिकले एमालेमा कमिटीलाई समाहित गर्नुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । पार्टी प्रवेश गर्दै विष्टले एमाले नेता कार्यकर्तासामू सम्बोधनसमेत गर्नुभएको छ ।
राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गरिनुलगायतको कारण आफूले पार्टी छोडेको विष्टले बताउने गर्नुभएको छ ।
यसैगरी, पार्टीले पार्टी संरचना तथा सरकारमा नैतिक पतन व्यक्तिहरुलाई जिम्मेवारी दिइएको लगायतका कारण सरकार छोडेको उहाँको भनाई छ ।
खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश सभा संसदीय दलमा जानकारी नै नगराई यसअघि मुर्ति चोरीको अभियोग प्रमाणित भइसकेका कार्चेन लामालाई गैर–सांसद मन्त्री बनाएपछि उहाँ रुष्ट हुनुहुन्थ्यो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदा बिष्ट पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीको पक्षमा लाग्नुभएको थियो । तर अदालतले पार्टी छुट्टाछुट्टै गराइदिएसँगै माओवादी केन्द्रमा फर्किनुभएको थियो ।
सम्बन्धित समाचारहरुः
खबर बजार । ६ चैत्र २०७८, आईतवार १४:१९