पत्रकारको विकासका लागि आवश्यक बजेट तथा नीति र कार्यक्रम ल्याउँछौं: मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णालीका पत्रकारलाई सञ्चार साधनमा निपुर्ण बनाउन आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

दैलेख स्थायी घर भएका तर सुर्खेत कर्मथलो बनाई विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुसँग आज कुरा गर्दै मन्त्री शाहीले पत्रकारलाई सञ्चार सामाग्री खरिदमा अनुदान दिने गरि बजेटको व्यवस्था गर्ने बताउनुभएको हो ।

‘पत्रकार जगत राज्यको चौथो अंग हो । चौथो अंगको विकासका लागि हामी आवश्यक बजेट तथा नीतिक र कार्यक्रम ल्याउँछौं । तर अहिले नै यति बजेट भनेर नभनिहालौं । तपाईहरुको माग सम्वोधन हुन्छ ।’

मन्त्री शाहीले त्यसका अलावा पत्रकार स्वास्थ्य वीमा कार्यक्रमको बजेट थप गर्ने र स्थानीय स्तरका पत्रिकाहरुलाई विज्ञापन दिने नीति ल्याउँने पनि बताउनुभयो । पत्रकारहरुले स्थानीय मिडियाले विज्ञापन नपाउने तर काठमाडौंमा नामै नचलेका मिडियाले करोडौंको विज्ञापन पाउने गरेको भन्दै मन्त्री शाहीसँग स्थानीय पत्रिकालाई पहिलो प्राथमिकता दिन माग गर्नुभएको थियो ।