

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागकिरलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले सत्यतथ्य सूचना प्रशारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसुचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रशारण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले तथ्यहीन, भ्रामक समामजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रामकता सिर्जना हुने र पत्रकारिताको मूलमर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।

खबर बजार । ११ श्रावण २०७९, बुधबार १५:५८