

जुम्ला । नेकपा (एकीकृत समाजवादी) जुम्ला नेकपा एमालेमा समाहित भएको छ। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउनका लागि सिंगो समाजवादी कमिटीनै एमालेमा सोमबार एमालेमा समाहित भएको हो।
नेकपा एमाले जिल्ला कमिटी जुम्ला अध्यक्ष शान्तिलाल महत र एकिकृत समाजवाद जिल्ला कमिटी अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गर्नु भएको हो ।
एमाले जिल्ला कमिटी जुम्लाले कार्तिक ७ गते बाम एकता लगायत मूल घर फिर्ताका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै एमाले माथी गरिएको चौतर्फि घेराबन्दीलाई तोड्न एमाले जिल्ला कमिटी जुम्ला र नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी जुम्लाका इन्चार्ज प्रदेश कमिटी सदस्यहरु, जिल्ला पार्टी अध्यक्ष पदाधिकारी लगायत सम्पूर्ण जनसंगठन, पेशागत संगठनहरु एकताबद्ध भएर नेकपा एमालेलाई विशाल एकतावद्द र सुदृढ संगठन निर्माण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको प्रगतिशिल सरकार बनाउने उहांहरुको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सयुक्त विज्ञप्ति जारी गर्दै उहांहरुले नेपालको कम्यूनिष्ट आन्दोलनमा अग्रणी भूमिका खेलेको यो मुलुकको सबैभन्दा पुरानो र ठूलो दलको रूपमा स्थापित नेकपा (एमाले) राष्ट्र, राष्ट्रियता र जनजिविकाको पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको र एमालेले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को महाअभियानमा लम्किरहेको अवस्थामा राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा रहेको केही अवसरवादी र नक्कली कम्यूनिष्टहरुको चलखेल र प्रभावबाट पार्टीको स्थापनाकालदेखि क्रियाशिल एमालेका नेता–कार्यकर्ताबीच फरक दृष्टिकोण र भ्रमका कारण पार्टी टुटफुट र विभाजनद्वारा सिंगो पार्टीमा क्षति पुगेको महसुस गरेर पार्टी समाहित गरेको निश्कर्ष निकालेका छन्।
साथै उहांहरुले मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभा निर्वाचनमा देशी विदेशी प्रतिक्रियावादी र पश्चगामी शक्तिहरुले गरेको अप्राकृतिक गठबन्धनको चलखेल र घेराबन्दिले नेपालको सामपन्थी आन्दोलनलाई कमजोर बनाउन खेलेको भूमिकालाई सशक्त रुपमा प्रतिवाद गर्दै एमालेलाई बलियो बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

खबर बजार । २१ कार्तिक २०७९, सोमबार १७:१४