आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन एमालेको निर्देशन


काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन निर्देशन दिएको छ ।

लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिनु भयो ।

संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिनुभएको थियो ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउनु हुने छ ।