काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुनेछ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा देशमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा पुन: उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
खबर बजार । २८ फाल्गुन २०७९, आईतवार १३:४२