काठमाडौं । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सुरू भएको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साँझ ५ बजे बस्ने भनिए पनि एक घण्टा ढिला गरी सुरू भएको हो । बैठकमा तनहुँ–१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले पनि उपस्थित हुनुभएको छ । गत सोमबार यसै एजेन्डामा छलफल गर्न बैठक डाकिए पनि उहाँ अनुपस्थित हुनहुन्थ्यो ।
नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । उपचुनाव सकिएलगत्तै सभापति रवि लामिछाने र सांसद वाग्लेले स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट नहुने बताउनु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले चितवनको एक औपचारिक कार्यक्रममा लामिछानेलाई सरकारमा आउन आह्वान गर्नु भएको थियो ।
खबर बजार । २२ बैशाख २०८०, शुक्रबार १८:३३