प्रदेश संरचना सत्ता बार्गेनिङ गर्ने ठाउँ बन्यो: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले काम नगरेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताउनु भएको छ ।

कर्णालीका नेता कार्यकर्तासँग काठमाडौंमा चियापान तथा भेटघाट गर्न मंगलबार आयोजित कार्यक्रममा उहाँले प्रदेश संरचनाले काम नगरेको सूचकांकहरुले नै देखाएको बताउनु भयो ।

‘प्रदेश संरचनाले काम गर्ने भए कर्णालीमा काम हुनुपथ्र्यो, सुदूरपश्चिममा काम हुनुपथ्र्यो, मधेशमा काम हुनुपथ्र्यो’, उहाँले भन्नुभयो, ‘आज हेर्नुस् मैले बोल्नुपर्दैन, सूचकांकहरुले भनेका छन् ।’

प्रदेश संरचनालाई सत्ता बार्गेनिङ गर्ने पुराना दलहरुले भारी बिसाउने ठाउँ बनाएको लामिछानेले बताउनु भयो ।

‘अहिले काम गर्नुपर्ने प्रदेश संरचना, संविधानले परिकल्पना गरेको एउटा र अहिले भएको प्रदेश संरचना त्यही बार्गेनिङकर्ताको भारी बिसाउने चौतारी बनेको छ’, उहाँले भन्नुभयो ।

अहिलेको प्रदेश संरचनाले काम नगरेका कारण आफूले गत मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको बैठकको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न नहुने बताएको उहाँले स्मरण गर्नु भयो ।

सभापति लामिछानेले सहकारी पीडितको समस्यालाई लिएर आफूलाई घेराबन्दी गर्न खोजिएको बताउनु भयो । ‘चिन्ताले गरिएका हरेक प्रश्नको म सम्मान गर्दछु । तर, संगठित रुपमा यसलाई घेर्नसक्छु, यसलाई लडाउन सक्छु भनेर कसैलाई लाग्छ भने बिउँझिनुस्’, उहाँले भन्नुभयो ।