
काठमाडौं । साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ भएको छ । सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले टोलीलाई बिदाइ गर्नुभएको हो ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
आउँदो सोमवार जेठ ११ गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भूटान र श्रीलङ्का छन् । समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा जेठ ११ गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ । प्रतियोगिताका लागि गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।




खबर बजार । ७ जेष्ठ २०८३, बिहीबार २०:१४